
चितवन । रत्ननगर नगरपालिकाले साउन १५ गतेभित्र विद्यालयमा सञ्चालित पब्लिक क्वारेन्टाइन खाली गर्ने भएको छ । सोहीअनुरुप क्वारेन्टाइन खाली गर्ने प्रक्रिया सुरू भइसकेको नगरपालिकाले जनाएको छ ।
दुईवटा विद्यालयको यसअघि नै क्वारेन्टाइन खाली भइसकेको छ भने बुधबार ओम शान्ति आधारभूत विद्यालयमा रहेको महिला क्वारेन्टाइन खाली गराइँदै छ । सो नगरपालिकाले भारतसहित तेस्रो मुलुकबाट आउने आफ्ना नागरिकलाई राख्न नगरभित्रका १६ वटा विद्यालयमा क्वारेन्टाइन सञ्चालन गरेको थियो ।
नेपाल सरकारले भदौ १ गतेबाट शिक्षण संस्था खोल्ने निर्णय गरेपछि सो नगरपालिकाले १५ दिनअघि नै विद्यालयमा रहेका क्वारेन्टाइन खाली गर्न लागेको हो । विद्यालयको सरसफाइ र सुरक्षाका लागि १५ दिन स्यानिटाइजिङ गरेरमात्रै विद्यालय सञ्चालन गर्ने योजनासहित क्वारेन्टाइन खाली गर्न लागिएको मेयर नारायण वनले बताए । रत्ननगरका २१ वटा क्वारेन्टाइनमा अझै पनि ५५ जना रहेका छन् ।
विद्यालयको क्वारेन्टाइनमा रहेकाहरुलाई अन्य ठाउँमा क्वारेन्टाइन बनाएर राख्ने र विद्यालय खाली गरिने उनले बताए । पूर्व–पश्चिम राजमार्गबाट उत्तरतर्फ एउटा र दक्षिणतर्फ अर्को व्यवस्थित क्वारेन्टाइन बनाएर राख्ने योजना रहेको मेयर नारायण वनले बताए ।
विदेशबाट आएका २० जना होम क्वारेन्टाइनमा रहेका छन् । पब्लिक क्वारेन्टाइनमा रहेका ५५ जनालाई होम क्वारेन्टाइनमा राख्ने विषयमा पनि अध्ययन भइरहेको छ । रत्ननगरले अहिलेसम्म ४७९ जनाको पिसिआर परीक्षण गरेको छ, जसमध्ये तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । वडा नं–४ र ७ का दुई महिला निको भएर घर फर्केका छन् भने वडा नं–१३ का एक पुरूषको भरतपुर अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।