चितवन । सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छूट प्याकेजसहित सञ्चालनमा आएछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छूट प्याकेजको घोषणासहित करिब चारमहिनापछि सञ्चालनमा ल्याएका हुन् ।

क्षेत्रीय होटल संघ सौराहाले एक सूचना जारी गर्दै सरकारले दिएको निर्देशन र नियम पालना गरेर होटल व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरेको थियो । व्यवसायी सोही सूचनाअनुरुप होटल सरसफाइ र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने तयारीमा जुटेका छन् । होटल सञ्चालन गर्दा सबै होटलले अनिवार्यरुपमा कोभिड–१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच, हातधुने र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने संघले जनाएको छ ।

यस्तै पर्यटकलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउने, सम्पूर्ण पर्यटकको फोन नम्बरसहित सम्पूर्ण विवरण राख्नुपर्ने, १०० डिग्रीभन्दा बढी ज्वरो आएको पर्यटकलाई नजिकको स्वास्थ्य चौकीमा पठाउनुपर्ने वा सम्बन्धित निकायमा खबर गर्नुपर्ने र पर्यटक बसेको कोठा अनिवार्यरुपमा ४८ घण्टा खाली राख्नुपर्ने वा स्यानिटाइज गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरिएको संघका महासचिव गुणराज थपलियाले जानकारी दिए ।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेसँगै सौराहाका होटल पूर्णरुपमा बन्द रहेका थिए । सरकारको निर्णयअनुरुप नै होटल सञ्चालनमा ल्याइएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । उनले भने, “सुरक्षा सतर्कता अपनाएर होटल सञ्चालन गरेका छौँ, सबै व्यवसायीले सोहीअनुरुप तयारी गरिरहेका छन् ।” उनले आजदेखि सौराहा खुल्यो भन्ने सन्देश प्रवाह गरिएको बताए ।

क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सबै व्यवसायीले होटल सरसफाइ र व्यवस्थापन गरेको जानकारी दिए । उनले व्यवसायी होटल खोल्न पाउँदा उत्साहित भएको भन्दै आन्तरिक प्रचारप्रसारमा समेत जुटेको बताए । प्रचारप्रसार स्वरुप नै केहीदिन अघि साइकलयात्रा गरिएको थियो ।

होटल सञ्चालनमा आउने भएपछि यहाँका व्यवसायीले छुट्टाछुट्टै प्याकेज घोषणा गर्न थालेका छन् । सङ्घले औपचारिक रुपमै छुटबारे निर्णय गर्ने तयारी गरे पनि व्यवसायी स्वतःस्फूर्त रुपमा छुटको प्याकेज घोषणा गरेका हुन् । रेष्टुराँ एण्ड बार एशोसिएसन [रेवान] सौराहाका निवर्तमान अध्यक्षसमेत रहेका सूर्योदय गेष्ट हाउसका सञ्चालक गोकर्ण गिरीले कोठा [लजिङ] मा ५० प्रतिशत छूटको घोषणा गरेका छन् । यस्तै खानामा २० प्रतिशत र पेयपदार्थमा १५ प्रतिशत छूट दिने उनले बताए ।

यस्तै होटल पार्क इन सौराहाका सञ्चालक दीपेश चौधरीले कोठामा ५० प्रतिशत छूट दिने जानकारी दिए । उनले खाना र पेयपदार्थमा १०/१० प्रतिशत छूट घोषणा गरिएको बताए  । उनले भने, “पर्यटकलाई स्वागत गर्न हामी आतुर छौँ, छूट दिएर पर्यटक आउने वातावरण तयार पार्दैछौँ ।” सौराहाका अन्य होटल तथा रेष्टुराँले पनि छूटको प्याकेज ल्याउने तयारी गरिरहेका छन् ।

होटल तथा रेष्टुराँ सञ्चालनसँगै सौराहाका अन्य पर्यटकीय गतिविधि पनि सञ्चालन हुने छन् । विशेष गरी जङ्गल सफारी, डुङ्गा सफारीका लागि प्रख्यात मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीका साथै जङ्गल वाक हुने गर्दछ । यस्तै बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारीका साथै जिप सफारी हुने गर्दछ  । रासस

तपाईको प्रतिक्रिया