काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २२४ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको १० हजार ७६८ जनाको पिसिआर परीक्षणका क्रममा २२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । जसमा ५३१६ जना संक्रमित उपचाररत छन् । प्रदेश १ मा २२२, प्रदेश २ मा दुई हजार ३४, वाग्मती प्रदेशमा ५७२, गण्डकी प्रदेशमा ३२४, प्रदेश ५ मा ३८५, कर्णाली प्रदेशमा २९६ र सुदूरपश्चिम प्रदेशमा एक हजार ४८३ छन् ।

मन्त्रालयका अनुसार रौतहट र कैलालीमा ५०० भन्दा बढी संक्रमित छन् । भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ । प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट चारजनाको मृत्यु भएको बताए । मृतक सबै वीरगञ्जका हुन् भने उनीहरुमध्ये तीन जनाको वीरगञ्जमा र एक जनाको पाटन अस्पतालमा मृत्यु भएको हो । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घन्टामा सबैभन्दा धेरै पर्सामा ४१ जना सङ्क्रमित थपिएका छन् । यस्तै, बझाङमा २५, कञ्चनपुरमा १८, दार्चुलामा १६, कैलाली र मोरङमा १५/१५ जना, झापामा १३ र बैतडीमा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यसैगरी बारामा चार, रौतहट, कास्की, दाङ र डोटीका तीन/तीन जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका दुई/दुई जना तथा रुपन्देही, भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, र बाँकेका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा थप ३२ जनामा कोरोना पुष्टि भएको छ । यससँगै उपत्याभित्र कोरोना संक्रमित हुनेको संख्या ५४१ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म तीन लाख ७५ हजार ४१६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल १२ हजार १११ जना देशभरका क्वारेन्टाइनमा र ५३१६ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै शुक्रबार एकै दिन कोरोना संक्रमण निको भई १५१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ३९९ पुगेको छ । जुन कुल संक्रमितको ७२.८ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया