काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३१५ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ६९९३ जनाको पिसिआर परीक्षणका क्रममा ३१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । जसमा ५३३८ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार रौतहट र कैलालीमा ५०० भन्दा बढी संक्रमित छन् । भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ । पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घन्टामा सबैभन्दा बढी कैलालीमा ८९ जनामा सङ्क्रमण देखिएको छ । यस्तै बझाङमा ६८, पर्सामा ६६, अछाममा २८, इलाममा २२, कञ्चनपुरमा नौ, सप्तरीमा सात, सिरहा र काठमाडौँमा पाँच/पाँच, मोरङ, झापा, रामेछाप र रुपन्देहीमा दुई/दुई, सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की र सल्यानमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौँ उपत्यकामा थप ५ जनामा कोरोना पुष्टि भएको छ । यससँगै उपत्याभित्र कोरोना संक्रमित हुनेको संख्या ५४६ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म तीन लाख ८२ हजार ४९० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ११ हजार ५२३ जना देशभरका क्वारेन्टाइनमा र ५३३८ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै शनिबार एकै दिन कोरोना संक्रमण निको भई ९३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । जुन कुल संक्रमितको ७२.१ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया