चितवन । रोटरी क्लब अफ रत्ननगरको शनिबार पद हस्तान्तरण कार्यक्रम गरिएको छ । यहाँ आयोजित एक कार्यक्रममा वर्ष २०१९/२० का अध्यक्ष विपीन पोखरेलले वर्ष २०२०/२१ का अध्यक्ष शिवराज उप्रेतीलाई पद हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष बनेका पोखरेलले आफ्नो कार्यकालका पदाधिकारी तथा सदस्यहरु, सामाजिक कार्यमा सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई कदरपत्र प्रदान गरेका थिए । पोखरेलको कार्यकालमा अन्तर्राष्ट्रिय म्याराथनदेखि सौराहामा मिनी घण्टाघरसम्म निर्माण भएको थियो ।

२०२०/२१ का अध्यक्ष शिवराज उप्रेतीले सामाजिक क्षेत्रमा रोटरीले गर्ने कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । रोटरीका डिष्ट्रिक्ट गभर्नर राजीव पोखरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठ, पूर्वडिष्ट्रिक्ट गभर्नर रवीन्द्रकुमार पिया, रत्ननगरका मेयर नारायण वन, असिस्टेन्ट गभर्नर रमेशकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष विपीन पोखरेललगायतले मन्तव्य राखेका थिए ।

पूर्वअध्यक्ष प्रेमकृष्ण खनालले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले धन्यवाद मन्तव्य दिएका थिए । रोटरी क्लब अफ रत्ननगरले रोटरी पुस्तकालय, सार्वजनिक शौचालय, चेपाङ बालबालिकालाई खाजा, मुसहर समुदायलाई आवासलगायतका कामहरु गरेको निवर्तमान सचिव सुरेन्द्रनाथ रेग्मीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया