चितवन । जिल्ला तेक्वान्दो कार्यसमिति चितवनका अध्यक्ष पुष्पराज जोशीसहित तीन जनाले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष जोशी, वरिष्ठ उपाध्यक्ष रोशन खान र कार्यसमिति सदस्य मीरा थापाले पदबाट राजीनामा दिएका हुन् । जोशी, खान र थापा राष्ट्रिय खेलकुद परिषद् मातहतका सहायक प्रशिक्षक हुन् ।

नयाँ खेलकुद विकास ऐन–२०७७ ले राखेपअन्तर्गतका कर्मचारीहरु कुनै पनि संघ तथा समितिहरुमा बस्न नपाउने व्यवस्था गरेपछि जिल्लाका तीन जनाले पदबाट राजीनामा दिएका हुन् । ‘जागिर र समितिको पदमध्ये एक रोज्नुपर्ने अवस्था आयो’, अध्यक्ष जोशीले भने, ‘लामो समयदेखि गरिरहेको सरकारी सेवा छाड्न सकिएन, त्यही भएर तेक्वान्दो समितिबाट राजीनामा दिएका हौँ ।’

उपाध्यक्ष खान र कार्यसमिति सदस्य थापाले अध्यक्ष जोशीलाई राजीनामा बुझाएका हुन् भने अध्यक्ष जोशीले जिल्ला तेक्वान्दो कार्यसमितिका कार्यवाहक अध्यक्ष गोपाल श्रेष्ठलाई राजीनामा बुझाएका हुन् । रत्ननगरमा शनिबार विशेष साधारण सभाको आयोजना गरी अध्यक्ष जोशीले राजीनामा दिएका हुन् ।

साधारण भेलामा जिल्ला तेक्वान्दो कार्यसमितिको कार्यवाहक अध्यक्षमा गोपाल श्रेष्ठलाई चयन गरिएको छ । अन्य पदाधिकारी र सदस्यहरु यथावत् रहने गरी उपाध्यक्षसमेत रहेका श्रेष्ठलाई कार्यवाहक अध्यक्ष बनाइएको हो । सो अवसरमा कार्यवाहक अध्यक्ष श्रेष्ठले चितवनमा तेक्वान्दो खेलको विकासका लागि रचनात्मक काम गर्ने प्रतिबद्धता जनाए ।

रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी प्रमुख अतिथि रहेको सो कार्यक्रममा कोषाध्यक्ष धनबहादुर दराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रल्हाद प्रधान, निवर्तमान अध्यक्ष उत्तम गुरूङ, कार्यालय प्रमुख रामजी ढकाल, डिएसपी राजन कार्की, वडा नं–१ का वडा सदस्य शालिकराम पराजुली, जिल्ला तेक्वान्दो कार्यसमितिका उपाध्यक्ष सुदीप गिरी, सचिव शैलेश श्रेष्ठ, सहसचिव प्रदीप श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया