रौतहट । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुई जना सहचालकलाईे पक्राउ गरेको हो ।

चितवनको गैँडाटारबाट भुस लिन गएको ना२ख ६७४६ नंको ट्रकमा फतुवा विजयपुर– १ स्थित बलात्कार भएको प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षक चन्द्रकिशोर साह नेतृत्वको टोलीले पीडित युवतीलाई उद्धार गरी आरोपित तीनै जनालाई पक्राउ गरेको रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा तनहँु जिल्ला ब्यास नगरपालिका–१ का ट्रक चालक २९ वर्षीय विष्णुप्रसाद रानाभाट, सोही ठाउँका सहचालक १८ वर्षीय विनोद रानाभाट र १९ वर्षीय केशर मगर रहेका छन् ।

बाराको पथलैयास्थित बाटोमा गत बिहीबार साँझ अलपत्र रहेकी २१ वर्षीया युवतीलाई घर पु¥याइदिन्छु भनी उनीहरुले ट्रकमा ल्याएका थिए । बरगिनिया चोकस्थित एकान्तमा पुगेर सोही राति युवतीलाई डराइ धम्क्याइ ट्रकभित्रै तीनै जनाले पालोपालो बलात्कार गरेपछि पीडितले रोइकराइ गर्दा स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

पीडित युवतीको शुक्रबार साँझ स्वास्थ्य जाँच भइसकेको छ । आरोपी तीनै जनामाथि जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भई शुक्रबार जिल्ला अदालत गौरबाट १५ दिनको म्यादसमेत थमाइएको प्रहरीले जनाएको छ । बरामद ट्रक इलाका प्रहरी कार्यालय विजयपुरको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक चन्द्रकिशोर साहले बताए । पीडित युवतीको अभिभावक हालसम्म सम्पर्कमा नआएकाले उनलाई तत्काल महिला तथा बालबालिका सेवा केन्द्र गरूडामा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया