
-अजित अधिकारी
चितवन । माडीको कुसुमखोलामा विगत केही दिनअगाडि निकुञ्ज प्रशासनबाट भएको ज्यादती र फेरि हुँदै आएको अन्याय र अत्याचारले सीमा नाघेको भन्दै बाँदर झुला र कुसुमखोलामा बसोबास गर्ने जनताको समस्याबारे माडी नगरपालिकाले चासो लिएको छ ।
सो समस्या कुसुमखोलाको मात्र नभई सिङ्गो माडीबासीकै समस्या रहेको बताउँदै नगर प्रमुख ठाकुरप्रसाद ढकालले बाढीपीडित, चेपाङ र सुकुम्बासी समुदायको आन्दोलन अब माडी नगरपालिकाले अगाडि बढाउने बताएका छन् ।
आन्दोलनरत सुकुम्बासी समुदायले नगरपालिका कार्यालयमा दिएको धर्नालाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले यस्तो बताएका हुन् । साथै, नगर प्रमुख ढकालले मंगलबारदेखि चेपाङहरुको आवास निर्माण कार्य छिट्टै नै सुचारु गरिने बताए । घर निर्माण कार्यमा निकुञ्ज प्रशासनले फेरि पनि बाधा अड्चन गर्न खोजेमा निकुञ्ज प्रशासनका विरुद्धमा अझ सशक्त भएर प्रदर्शन गरिने र उक्त प्रदर्शनमा साथ दिन सबै माडीबासीहरुलाई नगर प्रमुख ढकालको आग्रह छ ।
उनले सुकुम्बासीहरुको घरमा आगो लगाउनेलाई तत्काल कारबाही गर्नुपर्ने माग राख्दै बाँदरझुलाको बस्ती व्यवस्थापनका लागि सुकुम्बासी समस्या समाधान आयोगले बसोबासको उचित व्यवस्थापन गर्नुपर्ने नगर प्रमुख ढकालको भनाइ थियो ।