
अजित अधिकारी
चितवन । माडी नगरपालिका ९ स्थित कुसुमखोलामा विगत केही दिनअगाडि भएको निकुञ्ज प्रशासनको अमानवीय व्यबहारका कारण स्थानीयवासीहरुले निर्माण गरेका संरचना एवं बसोबास गरेका घर र उनीहरुले लगाएका बालीहरु सखाप पारी घर जलाउने र भत्काउने कार्यको सर्वत्र आलोचना भएको छ ।
अहिले पीडित जनताहरुको घर निर्माण गर्नको लागि घर निर्माण अभियानसमेत सुरु गरिएको छ । यसै विषयमा शनिबार पीडित परिवारको घर निर्माणका लागि सहयोग अभियान सुरु गर्ने उद्देश्यका साथ बैंक खातासमेत सञ्चालनमा ल्याइएको माडी नगरपालिका ९ का प्रवक्ता एबम वडा अध्यक्ष शिवहरि सुवेदीले जानकारी दिए ।
साथै, उनले यो विपतको समयमा सहयोग गर्नसमेत सबैमा आग्रह गरे । उता हेभी इक्विमेन्ट व्यवसायी महासंघका अध्यक्ष एवं चक्रपथ अभियन्ता ताराबहादुर कुवँरलगायतको समूहले राहतस्वरुप ४१ हजार रुपैयाँ पीडित परिवारको घर निर्माणका लागि सो रकम बैंक खातामा रहने गरी वडाध्यक्ष सुवेदीमार्फत कोष स्थापना गरेका हुन् ।