अजित अधिकारी
चितवन । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा माडीका स्थानीय समाजसेवी भागिरथ बस्यालले खेलेको भूमिका सराहनीय रहेको छ ।

विसं २०२२ साल चैत १८ गते पर्वत जिल्लामा जन्मिएका बस्याल सानै उमेरदेखि दयालु र सहयोगी भावनाका रूपमा चिनिन्छन् । विसं २०४१ देखि ०७६ सम्म शिक्षण पेशामा आबद्ध बस्याल हाल नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखाका सभापतिको रुपमा रहेका छन् ।

महामारी प्रकोपको समयमा राहत संकलन तथा वितरण समितिका संयोजकका रुपमा समेत रहेका बस्याल माडीका सक्रिय समाजसेवीका रूपमा चिनिन्छन् । अहिलेको विषम परिस्थितिमा रेडक्रसमार्फत् झण्डै ३६ सय घरपरिवारलाई राहत वितरण गरेको र आफ्नोतर्फबाट सुरुमा राहत कोषमा २६ हजार रुपैयाँ जम्मा गरेको उनले बताए ।

उनी एक महिनाको घरभाडा मिनाहा गर्ने माडीका पहिलो व्यक्ति हुन् । विपन्न परिवारहरुको लागिसमेत उनले महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

माडीका चेपाङ समुदायका लागि घरटहरा निर्माणमा समेत महत्त्वपूर्ण भूमिका खेलेका बस्यालले आफ्नो ज्यानको बाजी राखेर महामारीका समयमा अहोरात्र राहत वितरणमा तल्लीन भए । समाजसेवी बस्यालको योगदानलाई कदापि बिर्सिन नसकिने माडीका बुद्धिजीवीहरु बताउँछन् ।

बस्यालको जस्तै समाजसेवाको भावना सबैमा जागृत हुन सकेमा निकट समयमा नै समाज परिवर्तनको बाटोमा अगाडि बढ्न सक्छ । समाजको विकास र परिवर्तनमा बस्यालले खेलेको भूमिका सबैले खेल्न सकेमा मात्र समुन्नत र सुन्दर समाजको निर्माण हुन सक्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया