काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४१८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ७६३७ जनाको पिसिआर परीक्षणका क्रममा ४१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । जसमा ५७३२ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेको छ ।

मन्त्रालयका अनुसार रौतहट र कैलालीमा ५०० भन्दा बढी संक्रमित छन् । भोजपुर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँच जिल्लामा संक्रमितको संख्या शून्य छ । प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको बताए । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५८ जना पुगेको छ ।

काठमाडौँ उपत्यकामा थप ५१ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ४३, ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या ६२८ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म तीन लाख ९८ हजार ९०७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल १० हजार ४५२ जना देशभरका क्वारेन्टाइनमा र ५७३२ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, सोमबार एकै दिन कोरोना संक्रमण निको भई ३५८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१ पुगेको छ । जुन कुल संक्रमितको ७२ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया