
२० श्रावण, काठमाडौं । कोरोना संक्रमण दर बढ्दै गएको र स्थिती भयावह हुन सके भन्दै फेरि लकडाउन गर्न विज्ञहरुले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले हाल कोरोनाको कहर झन बढि रहेकोले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको बताए । ‘यही अवस्थामा अघि बढ्दा कोरोना थप भयावह हुन सक्ने विज्ञहरुले चिन्ता व्यक्त गर्नुभयो । उहाँहरुले छिट्टै कम्तीमा पनि २ साता लकडाउन घोषणा गरेर त्यो बीचमा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिनुभयो’, बैठकमा आफ्नो धारणा राखेर बाहिरिएका ठाकुरले पत्रकारहरुलाई भने ।
विज्ञहरुले २ साता लकडाउन गर्न दिएको सुझावलाई प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको आफूले पाएको भन्दै यसबारे थप छलफल गरेर आफू टुंगोमा पुग्ने बताएको ठाकुरको भनाइ छ । सो क्रममा ठाकुरले सरकारले लामो समय लकडाउन गरेपनि प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरेका थिए । उनले लकडाउन गरेरमात्रै नहुने यसअघि नै स्पष्ट भएकाले सरकारको आगामी योजना के छ भन्दै प्रश्न समेत गरेका थिए । ‘योबीचमा जुन ढंगले सरकारको काम गराइ रह्यो । यसले समय त्यत्तिकै खेर गएको पुष्टि हुन्छ’, उनले बैठकमा भनेका थिए, ‘लकडाउन थपेरमात्रै समाधान होइन । सरकारको योजना पनि के छ रु । दुई हप्ता थप्ने र भोलिपनि अवस्था उस्तै रहे के हुन्छ रु यसबारे सरकार गम्भीर बनोस् ।’
बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकारले सुझाव लिनेमात्रै नभइ काम पनि गर्नुपर्ने धारणा राखेका थिए । वीरगञ्ज काठमाडौं लगायतका ठाउँहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको सन्दर्भमा प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलसहित विज्ञहरूसँग छलफल गरेका हुन ्।