काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४६४ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ७९२६ जनाको पिसिआर परीक्षणका क्रममा ४६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । जसमा ६३३० जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेको छ ।

मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ र रुकुमपश्चिम गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानागरपालिका–९ का ४५ वर्षीय पुरुषको साउन २२ गते सोही महानगरपालिका–११ का ८९ वर्षीय पुरुषको गत साउन २० गते निधन भएको थियो । सोही वडाका ५७ वर्षे पुरुषको पनि मृत्यु भएको छ । यस्तै, सिराहा गोलबजारका नगरपालिका १२ का ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । सर्लाही वसन्तपुरका ४५ वर्षीय पुरुषको पनि पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७० जना पुगेको छ ।

काठमाडौँ उपत्यकामा थप १०६ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ९२, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या ९४५ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ४ लाख २७ हजार ९२६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल १० हजार २०७ जना देशभरका क्वारेन्टाइनमा र ६३३० जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, शुक्रबार एकै दिन कोरोना संक्रमण निको भई ४२५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ८१५ पुगेको छ । जुन कुल संक्रमितको ७०.८ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया