
अजित अधिकारी
२४ श्रावण, चितवन । माडी नगरपालिकाका नगर प्रमुख ठाकुर प्रसाद ढकालले भ्रामक समाचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । माडी नगरपालिका ५ स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छरछरेमा निर्माण गरिएको भबनको शुक्रबार उदघाट्न गर्ने क्रममा पत्रकार संग संक्षिप्त कुराकानी गर्दै नगर प्रमुख ढकालले बिगत केही दिन अगाडि कुसुमखोलामा बसोबास गर्ने जनताहरु माथी निकुञ्ज प्रशासनले गरेको ज्यादती प्रती आँफु दुखित भएको बताउदै दोषीलाई तत्काल कार्बाही गर्नुपर्ने तर्क गरे ।
उनले निकुञ्ज ऐन २०२९ ले माडीबासी जनताहरुको लागि अभिसाप तुल्याएकोले यसको संसोधनको प्रक्रियामा बिगत देखि बाट नै निरन्तर लागिरहेको र जनपक्षिय बनाउन सरकारसंग पटक पटक आग्रह गरिरहेको बताए ।
ढकालले माडीका भुमिहिन सुकुम्बासी जनताहरुको घर निर्माण र कोभिड १९ को रोकथाम र नियन्त्रणमा निरन्तर सक्रिय भएर अाफु लागिरहेको बताए । उनले कुसुमखोलाबाट बसाइँसराइ गरी माडीका विभिन्न क्षेत्रमा छरिएर रहेका भुमिहिन सुकुम्बासी जनताहरुको घर निर्माणमा अहोरात्र लागिरहेको र उनिहरुलाई आँफुले अन्याय नगरेको बताउँदै, उनिहरुमाथी निकुञ्ज प्रशासनले गरेको अन्यायका विरुद्धमा माडी नगरपालिका निरन्तर रूपमा लागिरहने बताए ।
नगर प्रमुख ढकालले राई टोलमा कुसुमखोलाबाट आएका चेपाङ समुदायहरुको लागि बस्ती निर्माण गर्ने क्रममा सालका रुखहरु सखाप पारी बस्ती निर्माण गरेको भनेर केही सञ्चार माध्यमहरुले भ्रामक समाचार सम्प्रेषण गरेकोमा दु:ख व्यक्त गरे । उनले पत्रकारलाई कालोमोसो दल्नुपर्छ भनेर आँफुले भन्दै नभनेको कुरालाई प्रचारबाजी गर्दै हिड्नु भनेको आँफैमा मुर्खता रहेको बताए । उनले भने म पत्रकारलाई संमान गर्छु, पत्रकार भनेको देशको चौथो अंग हो । हिजो जहाँनिया राणाशासन देखि आज देशमा संघिय लोकतान्त्रिक गणतन्त्र ल्याउनमा पत्रकारहरुले खेलेको महत्वोपुर्ण भुमिकालाई समेत स्मरण गर्दै, पत्रकारिता पेशा मर्यादित र अनुशासित हुनुपर्ने तर्क गरे । उनले सबै पत्रकारहरुलाई देश र जनताका पक्षमा रहेर समाचार सम्प्रेषण गर्न आग्रह गर्दै, चेपाङ तथा भुमिहिन सुकुम्बासी जनताहरुको लागि आँफुले कुनै पनि किसिमको अन्याय नगरेको र सालका रुखहरु काटेर बस्ती निर्माण गरियो भन्ने भ्रामक समाचारका पछि नलाग्न समेत सबैलाई आग्रह गरे ।