काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३८० जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ८५१५ जनाको पिसिआर परीक्षणका क्रममा ३८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । जसमा ६५४४ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि १८ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी सात जिल्लामा संक्रमितको संख्या शून्य छ ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१९ का ६२ वर्षीय एक पुरुष र पर्साको वीरगञ्ज महानगरपालिका–२ का २० वर्षीया महिला रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७५ जना पुगेको छ ।

काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ९०, ललितपुरमा २ र भक्तपुरमा ० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या १०९९ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म चार लाख ४३ हजार ८०४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ११ हजार ३८ जना देशभरका क्वारेन्टाइनमा र ६५४४ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, आइतबार एकै दिन कोरोना संक्रमण निको भई ४० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ३५३ पुगेको छ । जुन कुल संक्रमितको ७१.१ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया