
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३३८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ८४३४ जनाको पिसिआर परीक्षणका क्रममा ३३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । जसमा ६७३८ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि १९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ ।
प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–२ का ७० वर्षीया महिला, पर्साको देवयानी गाउँपालिका १५ का ४५ वर्षीय महिला, काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुष र कीर्तिपुर नगरपालिका ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुष रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७९ जना पुगेको छ ।
काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या ११४३ पुगेको छ ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म चार लाख ५२ हजार २३६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल १० हजार ७५९ जना देशभरका क्वारेन्टाइनमा र ६७३८ जना आइसोलेसनमा रहेका छन् ।
त्यस्तै, सोमबार एकै दिन कोरोना संक्रमण निको भई १४० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ४९३ पुगेको छ । जुन कुल संक्रमितको ७०.७ प्रतिशत हो ।