चितवन । भरतपुर महानगरभित्र कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि भरतपुर महानगर प्रमुख रेनु दाहालले उच्च मनोबलका साथ सुरक्षा सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरेकी छन् । उनले आज अपिल जारी गर्दै महानगर क्षेत्रमा पनि कोरोना सङ्क्रमण बढ्दै गइरहेकाले डराएर नभई उच्च मनोबलका साथ सुरक्षा सजगता अपनाएर मात्र मुक्ति पाउन सकिने उल्लेख गरेकी छन् ।

कोरोनाबाट जोगिन जीवनशैलीलाई बदल्नु जरुरी रहेको जनाउँदै उनले शङ्कास्पद बिरामी तथा समुदायस्तरमा पिसिआर परीक्षण गर्ने, बिरामीको उपचार र आइसोलेसन व्यवस्थापनलाई तीव्रता दिइने जानकारी दिइन् । महानगरका वडा नं १, १०, १५ लगायतका मुख्य सहरी क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । बैंक, प्रहरीलगायत स्थानमा काम गर्ने पनि पछिल्लो दिन सङ्क्रमित भएका छन् । भरतपुर महानगरको अगुवाइमा कोरोना विशेष अस्थायी अस्पताल स्थापना गरिएको थियो । सो अस्पताल पछि भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ ।

महानगर प्रमुख दाहालले भरतपुर अस्पतालसहित महानगर क्षेत्रमा रहेका स्वास्थ्य सङ्घसंस्थासँग समन्वय गरी कोरोना नियन्त्रणमा जुट्न सबैमा अनुरोधसमेत गर्नुभएको छ । रासस

तपाईको प्रतिक्रिया