चितवन । रत्ननगर नगरपालिका वडा नं–१०, बैरियामा पशुसेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । रत्ननगर नगरपालिका पशुपक्षी शाखा र बैरिया माविले संयुक्तरुपमा सञ्चालन गर्ने गरी सो सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

सेवा केन्द्रको उद्घाटन गर्दै रत्ननगरका मेयर नारायण वनले किसानले व्यावसायिकरुपमा पालेका पशुहरुको उपचार र परीक्षणका साथै बैरिया माविको प्राविधिक शिक्षाअन्तर्गत भेटेरिनरी अध्ययन गरिरहेका विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षाका लागि पशुसेवा केन्द्र सञ्चालनमा ल्याइएको बताए । उनले पशुपालनको विकासका लागि गाउँठाउँमै सेवा दिने गरी केन्द्रहरु सञ्चालनमा ल्याइने बताए ।

सो सेवा केन्द्रबाट वडा नं–१०, १२ र १३ का पशुपालक किसानहरुले सेवा दिन सक्ने वडाध्यक्ष केशव आचार्यले जानकारी दिए । सो सेवा केन्द्रबाट पशुपक्षीको उपचार, प्राविधिक सेवा र विभिन्न रोगको परीक्षण गरिने उनले बताए । उक्त सेवा केन्द्रमा प्राविधिक सहायकस्तरको कर्मचारीको नेतृत्वमा विशेषज्ञ प्राविधिकहरु रहनेछन् ।

कार्यक्रममा पशुपक्षी विकास शाखाका प्रमुख शालिकराम पौडेलले किसानले व्यावसायिकरुपमा पालेका पशुहरुमा भाइरल रोगको प्रकोप देखिन थालेकाले सेवा केन्द्र स्थापनापछि किसानलाई राहत हुने बताए । उनले पशु स्वास्थ्य सेवालाई समुदायस्तरमा पु¥याएर प्रभावकारी बनाउने बताए ।

कावडाध्यक्ष केशव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु कमलबहादुर घिमिरे, सीता भेटवाल, बैरिया माविका प्रधानाध्यापक युवराज शर्मा पाण्डे, सहायक प्रधानाध्यापक लोकनाथ पाण्डे, नगरस्तरीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष शिवकान्त पौडेललगायत टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया