काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ६३८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको १० हजार ४६२ जनाको पिसिआर परीक्षणका क्रममा ६३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । जसमा ७२०१ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि १९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा धनुषाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत विदेह नगरपालिका–८ का ६० वर्षीय पुरुष, धनुषाकै क्यान्सर अस्पतालमा काम गर्ने ५० वर्षीय पुरुष, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ का ८४ वर्षीय पुरुष र काभ्रेकी ५० वर्षीया महिला रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८३ जना पुगेको छ ।

काठमाडौँ उपत्यकामा थप १३४ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या १२७७ पुगेको छ ।

मंगलबार पर्साका ७०, मोरङका ४२, सर्लाहीका ४१, बाराका ३९, रुपन्देही र सुनसरीका ३३/३३ जना, धनुषाका २४, रौतहटका २०, कपिलवस्तुका १८, प्युठानका १७, उदपयपुरका १६, सप्तरी र सिराहाका १३/१३, महोत्तरीका १२, धादिङका ११, झापाका १० र दाङका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, कास्की र सुर्खेतका ५/५ जना, काभ्रे ४, चितवन र नुवाकोटका ३/३ तथा पर्वत, सल्यान, दैलेख, बाग्लुङ, तनहुँ, नवलपरासी र ओखलढुंगाका २/२ मा संक्रमण देखिएको छ ।

यसैगरी, रामेछाप, धनकुटा, रुकुम पश्चिम, सिन्धुपाल्चोक, खोटाङ, स्याङ्जा, अछाम, अर्घाखाँची, दोलखा, इलाम, जाजरकोट, कालीकोट, पाँचथर, दार्चुला, बर्दिया, मकवानपुर र गोरखाका १/१ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म चार लाख ६२ हजार ६९८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ११ हजार ५८ जना देशभरका क्वारेन्टाइनमा र ७२०१ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, मंगलबार एकै दिन कोरोना संक्रमण निको भई १७१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ६६४ पुगेको छ । जुन कुल संक्रमितको ७० प्रतिशत हो ।

तपाईको प्रतिक्रिया