
अजित अधिकारी
२८ श्रावण, चितवन । माडी क्षेत्र एक साताका लागि सिल गर्ने तयारी गरिएको छ । माडी क्षेत्रमा काेभिडकाे केस बढ्न नदिन एक साताका लागि सिल गर्ने तयारी रहेको माडी नगरपालिकाले जनाएको छ । बिश्वब्यापी महामारीको रूपमा रहेको कोभिड १९ अर्थात कोरोना भाइरसको कारण बिश्वको जनजीवन प्रभावित रहनुका साथै कयौं मानिसहरु कोरोनाका कारण ज्यान गुमाउन बाध्य हुनुपरेको छ ।
पछिल्लो समयमा आएर देशका अधिकांश क्षेत्रहरुमा यसको सक्रमण देखिनुका साथै सक्रमणबाट ज्यान गुमाउने संख्या बढ्दै गएपछि, उच्च सतर्कताका साथ माडी क्षेत्रलाई संक्रमण बाट बचाउनको लागि माडी नगरपालिकाले माडी नगर बचाउँ अभियान अन्तर्गत माडी नगर क्षेत्रभित्र राती ९ बजेपछी बिहान ५ बजे सम्म हिँडडुल गर्न तथा सवारी साधन चलाउन पूर्णरुपमा निषेध गरिएको छ । आउदो श्रावण ३१ गतेदेखि भदौ ५ गतेसम्म माडी बाहिर जान तथा माडी प्रवेशमा रोक लगाई माडी नगरक्षेत्रलाई एक साताका लागि सिल गरिने ईलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्क बहादुर बिश्वकर्माले नेपालीको आवाज डटकमलाई जानाकारी दिए ।
यही श्रावण ३१ गतेदेखि भदौ ५ गतेसम्म माडी नगरक्षेत्र भित्र बाहिर आवतजावत निषेध गरिएकोले उद्योग व्यवसाय तथा बजार पसलहरुलाई आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराई दैनिकी सहज गर्न गराउनुहुन सम्पूर्ण व्यवसायी तथा नगरवासीमा अनुरोध गरिएको माडी नगरपालिकाका सुचना अधिकारी प्रविण भण्डारीले जानकारी दिए ।