चितवन । वाणिज्य बैंक शाखा कार्यालय भरतपुरमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिए पछि गरिएको नमुना परीक्षणमा अन्य कर्मचारीको नतिजा नेगेटिभ आएको छ ।

शाखा प्रबन्धक ईश्वरी न्यौपानेका अनुसार त्यहाँ कार्यरत अन्य २४ जना कर्मचारीको नमुना परीक्षणमा नतिजा नेगेटिभ आएको हो ।

शनिबार गरिएको परीक्षणमा त्यहाँ हाजिर गरेर आन्तरिक राजस्व कार्यालय भरतपुरको काउन्टरमा कार्यरत एक कर्मचारीको नतिजा पोजेटिभ आएको थियो । त्यसलगत्तै त्यहाँका सबै कर्मचारी घरकै क्वारेन्टाइनमा बसिरहेका छन् । प्रबन्धक न्यौपानेले अन्य केही कर्मचारीको स्वाब परीक्षण गरेर बैंक खोल्नुपर्ने कर्मचारीको भनाइ रहेको बताए । वाणिज्य बैंकमा सेवाग्राहीको ठूलो चाप हुने गर्दछ ।

अन्य कर्मचारीको स्वाबको नतिजा नेगेटिभ आएसँगै त्यहाँ कारोवारका लागि पुगेका सर्वसाधारणमा खतरा कम भएको देखिएको छ । बैंक बन्द हुँदा अरु बैंकलाई नोट कोषको काम गर्न अफ्ठ्यारो परेको छ । त्यसबाहेकका सबै काम अन्य शाखाबाट हुने न्यौपानेको भनाइ छ । बैंक बन्द भए पनि मंगलबार पेन्सनको रकम सम्बन्धितको खातामा पठाइएको उनले जानकारी दिए ।

जिल्लामा यसै बैंकले राष्ट्र बैंकमार्फत गर्नुपर्ने कतिपय काम गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया