
काठमाडौँ । नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला रु छ हजार २०० ले घटेको छ ।
महासंघले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ । यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य पनि प्रतितोला रु २२५ ले घटेको छ । बुधबारका लागि चाँदीको मूल्य प्रतितोला रु एक हजार २१० निर्धारण गरिएको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार पुगेको थियो । मंगलबार पनि सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको थियो ।
अन्तर्र्राष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्यमा गिरावट आएको छ । प्रतिऔँस दुई हजार डलर नाघेको सुनको मूल्य बुधबार विश्वबजारमा प्रतिऔँस एक हजार ८९०.५५ डलरमा झरेको छ ।
महासंघका अध्यक्ष मोहनकुमार सुनारले अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेकाले नेपालमा पनि सुनको मूल्य ओरालो लागेको बताए । विश्वबजारमा सुनको भाउ घट्नाका कारणबारे आफूले अध्ययन गरिरहेको उनको भनाइ थियो । रासस