काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४८४ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको १० हजार ४८१ जनाको पिसिआर परीक्षणका क्रममा ४८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । जसमा ७६१३ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि १९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ ।
प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा धनुषामा दुई, सप्तरी, मोरङ, काठमाडौँ, धादिङ, कपिलवस्तु र बाराका एक एक जना रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९१ जना पुगेको छ ।
काठमाडौँ उपत्यकामा थप १३९ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा १०९, ललितपुरमा ११ र भक्तपुरमा १९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या १४१६ पुगेको छ ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म चार लाख ७३ हजार १७९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल १४ हजार ८४६ जना देशभरका क्वारेन्टाइनमा र ७६१३ जना आइसोलेसनमा रहेका छन् ।
त्यस्तै, बुधबार एकै दिन कोरोना संक्रमण निको भई ६४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ७२८ पुगेको छ । जुन कुल संक्रमितको ६८ प्रतिशत हो ।