
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५२५ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ९ हजार ८५९ जनाको पिसिआर परीक्षणका क्रममा ५२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । जसमा ८०२५ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि १९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ ।
प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय एक पुरुष, धनुषाको मिथिला नगरपालिका वडा नं ७ ढल्केबरका ८५ वर्षीया महिला, अछामको रामारोशन गाउँपालिका वडा नं ५ का १८ वर्षीय एक पुरुष र मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं ३ का ५७ वर्षीय एक पुरुष रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९५ जना पुगेको छ ।
काठमाडौँ उपत्यकामा थप १२७ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या १५४३ पुगेको छ ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म चार लाख ८३ हजार ३८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल १४ हजार ७६९ जना देशभरका क्वारेन्टाइनमा र ८०२५ जना आइसोलेसनमा रहेका छन् ।
त्यस्तै, बिहीबार एकै दिन कोरोना संक्रमण निको भई १०९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ८३७ पुगेको छ । जुन कुल संक्रमितको ६७ प्रतिशत हो ।