भरतपुर । काेराेना संक्रमितको संख्या बढेसँगै भरतपुरमा शनिबारदेखि लागुहुनेगरि निषेधाज्ञा जारी गरिएकाे छ । आज (शुक्रबार) भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरूङ, चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ, यातायात व्यवसायीलगायत सरोकारवाला निकायका प्रमुखहरूबीच भरतपुर महानगरपालिकामा भएको छलफलबाट महानगरभित्र कम्तीमा एक हप्ताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले जानकारी दिए।

निषेधाज्ञा जारी भएसँगै भरतपुर महानगर क्षेत्रभित्र अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा एक साताका लागि बन्द हुनेछ । हाल सञ्चालनमा रहेकाे सार्वजनिक यातायात पूर्णरूपमा ठप्प हुनेछ भने उद्योग तथा कलकारखानाहरू सञ्चालनमा समेत कडाई गरिनेछ। यदि कलकारखाना सञ्चालन गर्ने हाे भने सञ्चालकले कारखानाभित्रै बस्नेहरूबाट मात्रै कारखाना सञ्चालन गर्न पाइने अध्यक्ष पौडेलले जानकारी दिए। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अत्यावश्यक सेवा सञ्चालनमा रहेपनि साे सेवा पनि स्वास्थ्य सुरक्षाको उच्चतम उपाय अपनाएर मात्रै सञ्चालन गर्न पाइने जानकारी दिए। उनले निषेधाज्ञा उल्लंघन गरेको पाइएमा कडा कारवाही गरिने पनि बताए।

तपाईको प्रतिक्रिया