काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५९४ जनामा कोरोना पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको ११ हजार ५७५ जनाको पिसिआर परीक्षणका क्रममा ५९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । जसमा ८३७५ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि २० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

संक्रमित हुनेहरुमा पर्सा ७१, मोरङ ५३, सुनसरी २४, महोत्तरी २४, बारा २४, तनहुँ २२, बाँके २२, सुर्खेत २१, मकवानपुर १८, सप्तरी १४, सर्लाही १४, चितवन १४, रुपन्देही १४, सिन्धुली ११, झापा नौ, कैलाली नौ जना रहेका छन् ।

यस्तै, सिरहा छ, अछाम छ, रौतहट पाँच, बर्दिया पाँच, कपिलवस्तु पाँच, दैलेख तीन, सिन्धुपाल्चोक दुई, नवलपुर दुई, कञ्चनपुर दुई तथा उदयपुर, नुवाकोट, दोलखा, धादिङ, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, दाङ, सल्यान, बाजुरा, हुम्ला र बझाङमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी छ जिल्लामा संक्रमितको संख्या शून्य छ ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा बाराका दुई पुरुष, मोरङ र सिरहाका एक एक पुरुष रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९९ जना पुगेको छ ।

काठमाडौँ उपत्यकामा थप ११९ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या १६६२ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म चार लाख ९४ हजार ६१३ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल १४ हजार ६३८ जना देशभरका क्वारेन्टाइनमा र ७३७५ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, शुक्रबार एकै दिन कोरोना संक्रमण निको भई २४० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुगेको छ । जुन कुल संक्रमितको ६७ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया