
काठमाडौँ । लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको खेलाडीको कोरोना बिमा गरिदिने भएको छ । ट्रष्टले नेपालमा गत वर्ष मङ्सिरमा सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बिमा गर्न लागेको हो ।
खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोरोना बीमा गर्न लागेको ट्रष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खेलाडीमा सानो भए पनि बिमाबाट राहत मिल्ने ट्रष्टले जनाएको छ । खेलाडीको कोरोना बीमा स्वागतयोग्य कुरा भएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए । ‘खेलाडीको कोरोना बिमा अहिलेको आवश्यकता हो, ट्रष्टले यो सराहनीय काम गरेको छ’, उनले भने ।
खेलाडीको प्रशिक्षण भने तत्काल सम्भव नभएको उनको भनाइ छ । खेलाडीको प्रशिक्षण सरकारी निर्णय र कोरोना संक्रमणको अवस्थामा निर्भर रहेको महासचिव चन्दले बताए । तेह्रौँ सागमा नेपाली महिला भलिबल टोलीले रजत पदक प्राप्त गरेको थियो । पुरुष भलिबल टोली भने समूह चरणबाटै बाहिरिएको थियो । हाल भलिबल खेलाडीहरु आ–आफ्नै ठाउँमा घरमै शारीरिक व्यायाम गरिरहेको उनले उल्लेख गरे । (रासस)