
चितवन ३१ साउन । बकुलहर रत्ननगर अस्पतालका मेसु डा. विश्वबन्धु बगाले र उहाँकी धर्मपत्नी माथी भएको दुव्र्यवहारको भत्सना गर्दै आपत्ती प्रकट गरिएको छ । अस्पताल व्यवस्थापन समितिले आज एक विज्ञप्ती जारी गरी कोरोना संक्रमण भई घरमा स्व सिल भई बसेका चिकित्सक दम्पती माथी गरिएको दुव्र्यवहार र अमानबीय घटनाको निन्दा गर्दै यस्ता घटना नदोहोर्याउन आग्रह गरिएको छ । भरतपुर स्थित डा. बगालेको घरमा स्थानीयबासीहरुले कोरोना संक्रमितको घर लेखिको व्यानर टाँस गरेर चिकित्सक दम्पतीको अपमान गरेका थिए ।
कोरोना संक्रमण नियन्त्रणको लागि अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सकहरुको आत्मसम्मानमा ठेस लाग्ने कार्य गरिएको भन्दै अस्पाताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका रत्ननगरका मेयर नारायण वनले जारी गरेको विज्ञप्तीमा जिम्मेवार अगुवाहरुबाट गरिएको लज्जास्पद कार्यको घोर आपत्ती एवम् खेद प्रकट गरिएको छ । कोरोनाको महामारी भइरहेको अबस्थामा अग्रपक्तिमा रहेर काम गर्ने चिकित्सकहरुलाई प्रोत्सहान गर्नुको सट्टा हतोत्साहित बनाउने कार्य दुर्भाग्यपूर्ण रहेको भन्दै विज्ञप्तीमा यस्ता निन्दनीय कार्यमा संलग्नहरुलाई यस किसिमको कार्य नदोहोर्याउन आग्रह गरिएको छ ।