काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४६८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको ११ हजार ४४७ जनाको पिसिआर परीक्षणका क्रममा ४६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । जसमा ८७१६ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि २२ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी चार जिल्लामा संक्रमितको संख्या शून्य छ ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा कपिलवस्तु, पर्सा र धनुषाका एक एक पुरुष रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०२ जना पुगेको छ । जसमा ८० पुरुष र २२ महिला रहेका छन् ।

काठमाडौँ उपत्यकामा थप ९८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या १७६० पुगेको छ ।

नयाँ संक्रमण हुनेमा मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२, धनुषाका २७, मकवानपुरका २१, सुनसरीका १६, बर्दियाका १४, बाँके, दाङ र कास्कीका ११र११ जना रहेका छन् । यस्तै, काभ्रे, दोलखा, चितवन र महोत्तरीका ९र९ जना, खोटाङ ६, सप्तरी, सिराहा र सुर्खेतका ५र५ जना, रौतहट ४, रामेछाप र दैलेखका ३र३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँका २र२ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङका एकएक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म पाँच लाख ६ हजार ६६० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल १४ हजार ४४८ जना देशभरका क्वारेन्टाइनमा र ८७१६ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, शनिबार एकै दिन कोरोना संक्रमण निको भई १२४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार २०१ पुगेको छ । जुन कुल संक्रमितको ६७ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया