
चितवन । चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पूर्वी चितवनका चारवटा नगरपालिकामा निषेधाज्ञा लागू गरिएको छ ।
पूर्वी चितवनका रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिका प्रमुखहरुको बैठकले चार नगरपालिका क्षेत्रमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको हो ।
चार नगरपालिकाका प्रमुखहरुको संयुक्त बैठकमा निर्णय गरेर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई जानकारी गराइएको छ । दिनप्रतिदिन जोखिम बढ्दै गएपछि चार नगरपालिकाको प्रमुखसहितको बैठकले निषेधाज्ञा गर्ने निर्णय गरी प्रशासनलाई जानकारी गराइएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले बताए ।
प्रमुख जिल्ला अधिकारी भट्टराईले आइतबार रातिदेखि नै लागू हुनेगरी पूर्वी चितवनमा निषेधाज्ञा घोषणा गरिएको बताए । यसअघि भरतपुर महानगरपालिकाले शुक्रबार रातिदेखि भदौ ५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिसकेको छ ।