चितवन । रत्ननगर ५ मा रहेको वातावरण संरक्षणमा अग्रणी संस्था झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोग्राम (जेइपिपी) ले रत्ननगर नगरपालिकाको वडा नं ५, ४ र ६ मा सचेतनामूलक पम्प्लेटसहित मास्क तथा हातधुने साबुन वितरण गरेको छ ।

संस्थाका संयोजक एवं वातावरण संरक्षण अभियन्ता रामचन्द्र महतोले पहिलो चरणमा नौ हजार थान कटनको मास्क वितरण अभियान सुरू गरिएको जानकारी दिए । उनका अनुसार वडा नं ५ मा एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै आइतबारदेखि हरेक परिवारका प्रत्येक सदस्यलाई मास्क तथा हातधुने लायफव्बाय साबुन वितरण गरिएको र सो वडासँगै जोडिएका वडा नं ४ र वडा नं ६ मा पनि अभियान जारी रहेको बताए ।

सो अभियानमा संस्थाका स्वास्थ्य सल्लाहकार डा गौरीराम महतोले कोरोनाबाट बच्न पालना गर्नुपर्ने सरसफाइ, भौतिक दूरी, मास्कको उचित प्रयोगलगायत स्वास्थ्य परामर्श प्रदान गरिरहेका छन् ।

कार्यक्रममा संस्थाकी सचिव संगीता चापागाईं, समाजसेवी एवं राजनीतिककर्मी रामबाबु सापकोटा र वडाध्यक्ष कृष्ण महतोलगायत संस्थाका सदस्यहरुले कोरोना महामारी समुदायमा फैलिन नदिन समुदायमा सचेतनासम्बन्धी अभियान सञ्चालन गरिरहेका छन् ।

झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोग्रामले २०७५ सालदेखि नै सामुदायिक विद्यालयहरुमा प्लास्टिकको असरसम्बन्धी सचेतना, समुदायस्तरमा वातावरण संरक्षणसम्बन्धी अभियान, फलामको डस्टविन वितरण, कपडाको झोला वितरण, होडिङ बोर्डमार्फत सचेतना, सांस्कृतिक कार्यक्रम, सचेतनामूलक पर्चा पम्प्लेट वितरणलगायतका गतिविधि गर्दै आइरहेको संयोजक महतोले जानकारी दिए ।

तपाईको प्रतिक्रिया