
१ भाद्र, चितवन । पूर्वी चितवनमा निषेधाज्ञाकाे पहिलाे दिन सबै क्षेत्र सुनसान देखिएकाे छ । चितवन स्थानीय प्रशासनले गएराति १२ बजेदेखि लागू हुनेगरि माडी बाहेकका ५ वटा स्थानीय तहमा भाद्र ५ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरेपछि यहाँको जनजीवन प्रभावित भएको छ भने पहिलाे दिन सबै क्षेत्र सुनसान देखिएको छ ।
निषेधाज्ञा जारी भएसँगै जिल्ला भएर राजमार्गमा अत्यावश्यक र लामो दूरीका सवारी साधन मात्र चलेका छन् । निषेधाज्ञापछि स्थानीयवासी घरमा नै रहेका छन् । अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ बजेदेखि ८ बजेसम्म पसल खोल्न दिइएको छ । बिहानीपख सामान्य चहलपहल भए पनि विस्तारै चहलपहल घट्दै गएको देखिएकाे छ ।
निषेधाज्ञाको समयमा यहाँका उद्योग, कलकारखाना, बजार तथा यातायात न्यून मात्रामा सञ्चालनमा रहेका छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना सङ्क्रमण बढ्दै गएपछि यसअघि भरतपुर महानगरपालिकामा शुक्रबार राति १२ बजेदेखि नै निषेधाज्ञा लागू भएपनि पूर्वी चितवनका रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकासंगै इच्छाकामना गाउँपालिकामा गएराति १२ बजेदेखि लागु हुनेगरि निषेधाज्ञा जारी गरिएको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम माडी नगरपालिका बाहेक जिल्लाका सबै स्थानीय तहहरुमा लागू हुनेगरि निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
निषेधाज्ञाका अवधिमा खुल्ने क्षेत्रहरुः
१. अत्यावश्सकीय खाद्य सामग्री खरिद गर्न विहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म पाइने ।
२. लामो दुरीका मालवाहक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शव बाहन, तरकारी, फलफूल, तथा दूध ढुवानीका लागि प्रयोग भएका सवारी साधन, पशुपंक्षी, दाना बोक्ने सवारी साधन, खानेपानी तथा इन्धन ढुवानीका लागि प्रयोग हुने ट्यांकर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन, अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधनहरु ।
३. आधारभूत खाद्य सामग्री पसल, पेट्रोल पम्प, ग्यास डिपो र औषधि पसलहरु ।
४. स्वास्थ्य संस्था र अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयहरु ।
बन्द हुने क्षेत्रहरुः
१. अत्यावश्यक सामग्री खरिद गर्न विहान ५ देखि ८ बजे र बेलुका ५ देखि ८ बजेसम्म बाहेक अन्य समयमा कुनै पनि व्यक्ति घर बाहिर निस्कन र हिडडुल गर्न नपाइने ।
२. माथि उल्लेखित अतिआवश्यक बाहेकका निजी तथा सार्वजनिक साधन (दुई पाँग्रे र चार पाँग्रे) सबै संचालन गर्न नपाइने ।
३. आधारभूत खाद्य सामग्री पसल, पेट्रोल पम्प, ग्यास डिपो र औषधि पसल बाहेक अन्य सबै व्यापार व्यवसाय बन्द हुने ।
४. अत्यावश्यक बाहेकका सरकारी कार्यालय, गैर सरकारी संस्था, बैंक तथा वित्तिय संस्था एवंम सहकारी संस्थाहरु सबै बन्द ।
५. धार्मिक, संस्कृतिक, सामाजिक (विवाह, ब्रतबन्ध)लगायत भेला जमघट, हुने कार्यहरु सबै बन्द ।