काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५८१ जनामा कोरोना पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको ११ हजार ५२० जनाको पिसिआर परीक्षणका क्रममा ५८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । जसमा ९६३९ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि ३६ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी चार जिल्लामा संक्रमितको संख्या शून्य छ ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा काठमाडौँकी ५८ वर्षीया महिला, रौतहटका ३२ वर्षीय पुरुष र मोरङका ६० वर्षीय पुरुष रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०७ जना पुगेको छ । जसमा ८३ पुरुष र २४ महिला रहेका छन् ।

काठमाडौँ उपत्यकामा थप १६८ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या २१०० पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म पाँच लाख २९ हजार ४२७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल १५ हजार १९८ जना देशभरका क्वारेन्टाइनमा र ९८३९ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, सोमबार एकै दिन कोरोना संक्रमण निको भई १५९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ४९४ पुगेको छ ।

तपाईको प्रतिक्रिया