चितवन । चितवनमा सोमबार १० जनासहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५५७ वटा नमुना परीक्षण गरिएकोमा मकवानपुरका एकसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित भएकामध्ये भरतपुर महानगरपालिकाका ७ जना, राप्ती नगरपालिकाका तीनजना रहेका छन् । भरतपुरका वडा नं ५ का २ जना, वडा नं १० का एक जना, वडा नं ११ का एक जना, वडा नं १५ का दुई जना र वडा नं १८ का एक जना रहेका छन् ।

यस्तै, राप्ती नगरपालिका वडा नं २ का एक जना र वडा नं ९ का दुई जनामा कोरोना पुष्टि भएको हो । भरतपुर र राप्तीको क्वारेन्टाइनमा रहेका ६ जना, पुरानो मेडिकल कलेजका ४ जना र आशा अस्पतालमा उपचाररत हेटौँडा–९ का पुरुषमा संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीले बताइन् ।

यसैबीच, रत्ननगर ६ स्थित बछौलीमा एक जना २७ वर्षीया नर्समा कोरोना पुष्टि भएपछि तीन घर सिल गरिएको वडाध्यक्ष बलरा दाहालले जानकारी दिए । ती महिलाको माइती घर र मामा घरमा सिल गरिएको हो । उनको भरतपुर अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया