काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा दुःखद् निधन भएको छ । गत वर्ष शताब्दी वर्ष उमेर पूरा गरेका उनको मंगलबार आफ्नै निवास लैनचौरमा निधन भएको काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जानकारी दिए ।
कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्कमा बस्न सफल भएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका करिब एकमात्र र अत्यन्त महत्त्वपूर्ण कवि मान्छन् । उनका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैतवैशाख काव्यसङ्ग्रह चर्चित छन् । मालतीमङ्गले उनले लेलेको बहुचर्चित नेपाली नृत्यनाटिका (ओपेरा) हो । अश्वत्थामा (अङ्ग्रेजी) कृति नोबेल पुरस्कारको मनोनयनका लागि पठाइएको थियो ।
घिमिरेका किन्नरकिन्नरी गीतसङ्ग्रह, गाउँछ गीत नेपाली, फूलको थुँगा बगेर गयो, आजै र राति के देखेँ सपना, नेपाली हामी रहौंँला कहाँ नेपालै नरहे बोललगायत थुप्रै गीत तथा निबन्ध एवं बालसाहित्य प्रकाशित छन् । उनका थुप्रै बाल कवितामध्ये साना बालबालिकालाई ध्यानमा राखेर ‘मुनुमुनु म्याँ म्याँ ब्रुक ब्रुक‘ अत्यधिक लोकप्रिय मानिन्छ ।
राष्ट्रियता, देशभक्ति, प्रकृति र प्रेमप्रणयका भावले ओतप्रोत उनका कृतिमा परिष्कृत र स्वच्छन्दतावादी भावधारा पाइन्छ । नेपाली लोकलयमा प्रभावशाली गीत रचना उनको अर्को विशेषता हो । उनले संस्कृत छन्दका नियमभित्रै रहेर छन्दोबद्ध कवितालाई सरल र बहुसङ्ख्यक नेपाली पाठकले बुझ्नेस्तरमा उकासेका थिए ।
अल्पायुमै पत्नी गौरीको निधन भएपछि उनले अत्यन्त प्रभावकारी शैलीमा शोककाव्यको रचना गरे, जुन उनको काव्ययात्राको कोशेढुंगा सावित भयो । त्यसपछि उनले महाकाली घिमिरेसंँग विवाह गरे ।
लमजुङको पुस्तुन बाहुनडाँडाबाट काठमाडौँ बसाइँ सरेका घिमिरेका काव्यकृतिमा मर्स्र्याङ्दी नदी र त्यहाँको लोकजीवनले अत्यन्त महत्त्वपूर्ण पाश्र्वभूमिको काम गरेका छन् । उनी नेपाली कवितामा पूर्वीय दार्शनिक भावभूमि र प्रखर राष्ट्रवादका हिमायती थिए । उनको ऋतम्भरा महाकाव्य लेखन अन्तिम चरणमा थियो ।
विसं २०७४ माघ २६ गते उनलाई नेपाली सेनाले मानार्थ सहायक रथीको दर्जा दिएको थियो भने सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले सोही साल फागुन २ गते जङ्गीअड्डामा आयोजित समारोहमा दर्जानी चिह्न प्रदान गरेकी थिइन् । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपतिसम्म भएका उनलाई विसं २०६० मा राष्ट्रकवि उपाधि दिइएको थियो ।
उनको पशुपतिमा अन्त्येष्टि गरिने र नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारद प्रदान गर्ने जनाइएको छ । रासस