काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४० वटा प्रयोगशालामा गरिएको १३ हजार ४६१ जनाको पिसिआर परीक्षणका क्रममा १०१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार मंगलबार देखिएको संक्रमित अहिलेसम्मकै बढी हो । यसअघि एकै दिन ७४१ जनामा संक्रमण देखिएको थियो । थपिएका संक्रमितसँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । जसमा १० हजार ५६३ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी चार जिल्लामा संक्रमितको संख्या शून्य छ ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा काभ्रे, नवलपरासी, कास्की, मोरङ, धनुषा र बाँकेका एक एक जना पुरुष र तनहुँकी एक महिला रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११४ जना पुगेको छ । जसमा ८९ पुरुष र २५ महिला रहेका छन् ।

काठमाडौँ उपत्यकामा थप २०५ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या २३०५ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म पाँच लाख ४२ हजार ८६६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल १३ हजार ९२६ जना देशभरका क्वारेन्टाइनमा र १० हजार ५६३ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, मंगलबार एकै दिन कोरोना संक्रमण निको भई ८५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ । जुन कुल संक्रमितको ६२.२ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया