काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४० वटा प्रयोगशालामा गरिएको ११ हजार ८३२ जनाको पिसिआर परीक्षणका क्रममा ७०७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । जसमा ११ हजार ५५५ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ४६ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रालयका अनुसार पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी चार जिल्लामा संक्रमितको संख्या शून्य छ ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा काठमाडौँकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष, पर्साका एक महिला र दुई पुरुष रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२६ जना पुगेको छ । जसमा ९५ पुरुष र ३१ महिला रहेका छन् ।

काठमाडौँ उपत्यकामा थप २०० जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या २६६४ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म पाँच लाख ६६ हजार २२० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ११ हजार ७६८ जना देशभरका क्वारेन्टाइनमा र ११ हजार ५५५ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, बिहीबार एकै दिन कोरोना संक्रमण निको भई २६४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९६४ पुगेको छ ।

तपाईको प्रतिक्रिया