चितवन । चितवनका २० जनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा यससँगै कोरोना संक्रमितको संख्या ३२३ पुगेको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति १२ बजेसम्म गरिएको परीक्षणमा भरतपुर, रत्ननगर र राप्ती नगरपालिकाका गरी २० जना र पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा, र मकवानपुरका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिइन् ।
संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका ९ महिला र ७ पुरुष छन् । उनीहरुको भरतपुर अस्पताल र भरतपुर सामुदायिक हस्पिटलबाट स्वाब संकलन गरिएको थियो । भरतपुर–२, ७, १० र ११ नम्बर वडाका संक्रमितहरुमा तीन वर्षीया बालिकादेखि ७८ वर्षीय वृद्धसम्मका छन् ।
यस्तै, रत्ननगर नगरपालिकाका ५० वर्षीय पुरुष, राप्ती नगरपालिका–२, ८ का ३५ र ५५ वर्षीय पुरुष तथा २६ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु चितवन मेडिकल कलेजको क्वारेन्टाइनमा छन् ।
यसैगरी, पूर्वी नवलपरासी, मकवानपुर, बारा, पर्सा र रौतहटका गरी ६ पुरुष र २ महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजबाट स्वाब संकलन गरिएको थियो । यस्तै, बाँकेको नेपालगञ्जका ५ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।