काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४० वटा प्रयोगशालामा गरिएको १२ हजार ५१९ जनाको पिसिआर परीक्षणका क्रममा ६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । जसमा १२ हजार ६२१ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रालयका अनुसार मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । मुस्ताङ, म्याग्दी र हुम्ला गरी तीन जिल्लामा संक्रमितको संख्या शून्य छ ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप ९ जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा पर्साका तीन पुरुष, सुनसरीमा छ वर्षीया बालिका र एक पुरुष, बारा, सिरहा, मकवानपुर र भक्तपुरमा एक÷एक पुरुष रहेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४६ जना पुगेको छ । जसमा ११३ पुरुष र ३५ महिला रहेका छन् ।

काठमाडौँ उपत्यकामा थप २१६ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या ३०६२ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म पाँच लाख ९२ हजार ४१८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ११ हजार ६५८ जना देशभरका क्वारेन्टाइनमा र १२ हजार ६२१ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, शनिबार एकै दिन कोरोना संक्रमण निको भई १२६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।

तपाईको प्रतिक्रिया