काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४० वटा प्रयोगशालामा गरिएको १० हजार २३४ जनाको पिसिआर परीक्षणका क्रममा ७४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । जसमा १३ हजार ७१५ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ४६ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रालयका अनुसार मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । मुस्ताङ, म्याग्दी र हुम्ला गरी पाँच जिल्लामा संक्रमितको संख्या शून्य छ ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा मृत्यु हुनेमा रुपन्देहीका ६७ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी सुनसरीका ६८ वर्षीय पुरुष, मोरङमा ६५ वर्षीय पुरुष, पर्साका ७० वर्षीया महिला र काठमाडौँकी ४८ वर्षीया महिलाको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १५७ जना पुगेको छ । जसमा ११७ पुरुष र ४० महिला रहेका छन् ।

काठमाडौँ उपत्यकामा थप २२४ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँका १७७, लतिपुरका ३३ र भक्तपुरका १४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । यससँगै उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या ३४५२ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म छ लाख १० हजार ४६९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ११ हजार २७५ जना देशभरका क्वारेन्टाइनमा र १३ हजार ७१५ जना आइसोलेसनमा रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा नौ हजार ९५५ जना रहेका छन् भने होम आइसोलेसनमा ३९४३ जना छन् । आइसियूमा उपचाररत १३७ जना छन् । बाग्मती प्रदेशका १० जना भेन्टिलेटरमा छन् ।

त्यस्तै, सोमबार एकै दिन कोरोना संक्रमण निको भई १७५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको छ । जुन ५७ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया