
बागलुङ । बागलुङ नगरपालिका ३ की एक व्यवसायी महिलामा एक साताअघि कोरोना देखिएपछि बागलुङ बजारमा समुदायमा कोरोना सरेको पुष्टि भएको थियो ।
ती महिलाको कन्ट्याक्ट ट्रेसिङ गर्दा हालसम्म थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकै जनाबाट समुदायका नौ जनामा कोरोना फैलिएपछि बागलुङ जिल्ला सदरमुकाममा उच्च सतर्कता अपनाइएको तथा भदौ ३ गतेदेखि आजसम्मको निषेधाज्ञा यही भदौ १५ गतेसम्म लम्बाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।
सङ्क्रमित महिलाका सम्पर्कमा आएका २५ जनाभन्दा बढी रहेको सूचनापछि स्वाब सङ्कलन गरेर पिसीआर परीक्षण गर्दा शुरुमा परिवारका सदस्य र आफन्तसहित छ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको थियो । त्यसको भोलिपल्ट छ जनाको सम्र्पकमा आएकाको स्वाब परीक्षण गर्दा एक जना र एक जनाको सम्र्पकमा आएकाको स्वाब परीक्षण गर्दा सोमबार पुनः दुई जना गरी एकै व्यक्तिबाट हालसम्म ९ जनामा कोरोना सरेको पाइएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
बागलुङ नगरपालिका–३ हाडेपाखामा कुखुरापालन व्यवसायी गर्दै आउनुभएकी ती महिलाभन्दा अघि बानपा २ की होटल व्यवसायी महिलामा कोरोना देखिएको थियो । उनको कन्ट्याक्ट ट्रेसिङबाट अन्य व्यक्तिमा सङ्क्रमण नदेखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । हालसम्म संक्रमितको सम्पर्कमा आएका १५१ जनाको स्वाब परीक्षण गर्दा बागलुङ नगरपालिकामा १० जनामा सङ्क्रमण पुष्टि भएको तथा ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको खनालले जानकारी दिए । रासस