काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको ११ हजार ३२७ जनाको पिसिआर परीक्षणका क्रममा ८५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । जसमा १४ हजार २५० जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ४६ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
मन्त्रालयका अनुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्य छ ।
प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको जानकारी दिए ।
मृत्यु हुनेमा मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय पुरुष र २२ वर्षीय पुरुष सिराहका, ६८ वर्षीया पर्सा, ७६ वर्षीय पुरुष धनुषाका र ५३ वर्षीय पुरुष रुपन्देहीका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६४ जना पुगेको छ । जसमा १२३ पुरुष र ४१ महिला रहेका छन् ।
काठमाडौँ उपत्यकाभित्र कोरोना संक्रमित हुनेको संख्या ३७१८ पुगेको छ । जसमा काठमाडौँका २९५५, लतिपुरका ४६३ र भक्तपुरका ३०० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म छ लाख २१ हजार ९०१ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल १० हजार ४९३ जना देशभरका क्वारेन्टाइनमा र १४ हजार २५० जना आइसोलेसनमा रहेका छन् ।
जसमा संस्थागत आइसोलेसनमा ८५८१ जना रहेका छन् भने होम आइसोलेसनमा ३९४३ जना छन् । देशभर आइसियूमा उपचाररत १५० जना छन् । बाग्मती प्रदेशका १३ जना भेन्टिलेटरमा छन् ।
त्यस्तै, मंगलबार एकै दिन कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ । जुन ५७ प्रतिशत हो ।