काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १३ हजार २५३ जनाको पिसिआर परीक्षणका क्रममा ८८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । जसमा १४ हजार ७३९ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ४६ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रालयका अनुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्य छ ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा मृत्यु हुनेमा महोत्तरीमा तीन पुरुष, कैलाली र बाराका दुई दुई पुरुष, बाँके र काठमाडौँका एक एक पुरुष र मोरङ र भक्तपुरका एक एक महिला रहेका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७५ जना पुगेको छ । जसमा १३२ पुरुष र ४३ महिला रहेका छन् ।

काठमाडौँ उपत्यकामा ३०१ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा १८ जना रहेका छन् । यससँगै राजधानीभित्र संक्रमित हुनेको संख्या ४०१९ पुगेको छ । जसमा काठमाडौँका ३१८५, लतिपुरका ५१० र भक्तपुरका ३१८ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ६ लाख ३५ हजार २५२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ९ हजार ८३२ जना देशभरका क्वारेन्टाइनमा र १४ हजार ७३९ जना आइसोलेसनमा रहेका छन् ।

जसमा संस्थागत आइसोलेसनमा ८७११ जना रहेका छन् भने होम आइसोलेसनमा ६०२८ जना छन् । देशभर आइसियूमा उपचाररत १५० जना छन् । बाग्मती प्रदेशका १३ जना भेन्टिलेटरमा छन् ।

त्यस्तै, बुधबार एकै दिन कोरोना संक्रमण निको भई ३८५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ५०४ पुगेको छ । जुन ६६.६ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया