काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १२ हजार ६२९ जनाको पिसिआर परीक्षणका क्रममा ११११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । जसमा १५ हजार २७३ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ४६ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रालयका अनुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्य छ ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएको जानकारी दिए ।

ललितपुरकी ६५ वर्षीया, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीया, बाँकेकी ७० वर्षीया र रुपन्देहीकी ७० वर्षीया महिला र काठमाडौँका ४८ वर्षीय, पर्साका ६२ वर्षीय र कपिलवस्तुका ५० वर्षीय पुरुष गरी आठ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १८३ जना पुगेको छ । जसमा १३५ पुरुष र ४८ महिला रहेका छन् ।

काठमाडौँ उपत्यकामा ३७७ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् । यससँगै राजधानीभित्र संक्रमित हुनेको संख्या ४३९६ पुगेको छ । जसमा काठमाडौँका ३४५५, लतिपुरका ५७६ र भक्तपुरका ३५९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ६ लाख ४७ हजार ८८१ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ९ हजार ४८८ जना देशभरका क्वारेन्टाइनमा र १५ हजार २७३ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, बिहीबार एकै दिन कोरोना संक्रमण निको भई ५६९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको छ । जुन ६६ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया