काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार २२९ जनाको पिसिआर परीक्षणका क्रममा ९२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३६ हजार ५५६ पुगेको छ । जसमा १६ हजार १९ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ४६ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रालयका अनुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्य छ ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट थप १२ जनाको मृत्यु भएको जानकारी दिए ।

मोरङकी ५६ र ६५ वर्षीया, भक्तपुरकी ६४ वर्षीया तथा मकवानपुरकी ७१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । यस्तै आज कोरोनाबाट रुपन्देहीका ६० वर्षीय, कास्कीका ५२ वर्षीय, चितवनका ५१ वर्षीय, झापाका ८३ वर्षीय, सिरहाका ५५ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय र उदयपुरका ५२ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १९५ जना पुगेको छ । जसमा १४३ पुरुष र ५२ महिला रहेका छन् ।

काठमाडौँ उपत्यकामा ४१५ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना रहेका छन् । यससँगै राजधानीभित्र संक्रमित हुनेको संख्या ४८११ पुगेको छ । जसमा काठमाडौँका ३८०५, लतिपुरका ५८७ र भक्तपुरका ४०३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ६ लाख ५८ हजार ११० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ९ हजार ५७३ जना देशभरका क्वारेन्टाइनमा र १६ हजार १९ जना आइसोलेसनमा रहेका छन् । जसमा ९ हजार ५७३ जना संस्थागत आइसोलेसनमा र ६ हजार ४४६ सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् । हाल १६४ सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने २२ सङ्क्रमितलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताए ।

त्यस्तै, शुक्रबार एकै दिन कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २४२ पुगेको छ । जुन ६६ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया