काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १० हजार ९७१ जनाको पिसिआर परीक्षणका क्रममा ८८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३७ हजार ४४० पुगेको छ । जसमा १६ हजार ५७८ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ४६ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रालयका अनुसार चितवन, ललितपुर, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौँमा ५०० भन्दा बढी संक्रमित छन् । मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्य छ ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट तीन महिलासहित १२ जनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा काठमाडौँ, भक्तपुर र ललितपुरका दुई दुई जना, पर्साका दुई, कास्की, पाल्पा, सिराहा, कास्की र गोरखाका एक एक जना रहेका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २०७ जना पुगेको छ । जसमा १५२ पुरुष र ५५ महिला रहेका छन् ।

काठमाडौँ उपत्यकामा १८६ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना रहेका छन् । यससँगै राजधानीभित्र संक्रमित हुनेको संख्या ४९९७ पुगेको छ । जसमा काठमाडौँका ३९६०, ललिपुरका ७०६ र भक्तपुरका ४१५ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, सर्लाहीका ८३ जना, पर्साका ७३, चितवनका ५७, धनुषाका ४९, मोरङका ३१, लमजुङका २९, महोत्तरी र बझाङका २६/२६ जना, सुनसरीका २४, नवलपुरका २३, सिराहाका २२, बारा र बैतडीका २१/२१ जना, झापा र बाँकेका २०/२० जना, धनकुटा, काभ्रे, दाङ र कैलालीका १९/ १९ जना, कञ्चनपुरका १७, रुकुम पूर्वका १६, नवलपरासी र सुर्खेत १०/१० जना तथा धादिङ र मकवानपुरका ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, रौतहटका ५ जना, संखुवासभा, कास्की र दार्चुलाका ३/३ जना, सप्तरी र कपिलवस्तुका २/२ जना तथा इलाम, दोलखा, सिन्धुपाल्चोक, गुल्मी, जाजरकोट, जुम्ला, दैलेख, रुकुम पश्चिमका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ६ लाख ६९ हजार ६२६ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ८ हजार ३५ जना देशभरका क्वारेन्टाइनमा र १६ हजार ५७८ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै, शनिबार एकै दिन कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ५५५ पुगेको छ । जुन ६५ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया