
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १२ हजार ७१७ जनाको पिसिआर परीक्षणका क्रममा १२२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३८ हजार ६६१ पुगेको छ । जसमा १७ हजार ५१८ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ४५ भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
मन्त्रालयका अनुसार चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र रुपन्देहीमा ५०० भन्दा बढी संक्रमित छन् । मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्य छ ।
प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट चार महिलासहित १४ जनाको मृत्यु भएको जानकारी दिए ।
मृत्यु हुनेमा सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० वर्षीय र ३५ वर्षीय तथा रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय तथा रुपन्देहीका ५७ वर्षीय र ६७ वर्षीय पुरुष तथा सुनसरीका ७४ वर्षीया, बाराका ४७ वर्षीया, महोत्तरीका ६२ वर्षीया र काठमाडौँका ७२ वर्षीया महिला रहेका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२१ जना पुगेको छ । जसमा १६२ पुरुष र ५९ महिला रहेका छन् ।
काठमाडौँ उपत्यकामा ४२९ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना रहेका छन् । यससँगै राजधानीभित्र संक्रमित हुनेको संख्या ५४२६ पुगेको छ । जसमा काठमाडौँका ४३३२, ललिपुरका ७१८ र भक्तपुरका ४६० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, चितवनका ९० जना, बाराका ८२, धनुषाका ७५, रुपन्देहीका ६१, मोरङका ४९, बझाङका ४७, पर्साका ४६, महोत्तरीका ३७, सर्लाहीका ३४, सुनसरीका ३३, सिराहाका २६, काभ्रे र कपिलवस्तुका २५/२५ जना, नवलपरासीका २१, बाँकेका १४, झापा र डोटीका ११/११ जना छन् ।
मकवानपुरका ९ जना, पाल्पा र अछामका ८/८ जना, सप्तरी, गुल्मी, बर्दिया र कैलालीका ६र६ जना, सिन्धुली, कास्की, गोरखा, प्युठान र दाङका ५/५ जना, ओखलढुंगा र तनहुँका ४/४ जना, धादिङ, बाग्लुङ र अर्घाखाँचीका ३/३ जना, संखुवासभा, सिन्धुपाल्चोक, नवलपुर र दार्चुलाका २/२ जना तथा इलाम, पाँचथर, रामेछाप र कञ्चनपुरका १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म ६ लाख ८२ हजार ३४३ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल सात हजार ७९७ जना क्वारेन्टाइनमा र १७ हजार ५१८ जना आइसोलेसनमा रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ६१२ जना रहेका छन् र होम आइसोलेसनमा ६ हजार ९०० रहेका छन् ।
त्यस्तै, आइतबार एकै दिन कोरोना संक्रमण निको भई २६७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ८२२ पुगेको छ । जुन ५४ प्रतिशत हो ।