काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोभिड–१९ सँग लड्ने स्वास्थ्यकर्मीमाथि कतै कुनै पनि प्रकारको दुर्व्यवहार गर्नेलाई कारबाही गरिने बताएका छन् ।
क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कारबाही हुने बताए । “स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने प्रयास जस्तो कार्य अपराध हो, त्यस्तो व्यवहार कदापी सहन गर्न सकिँदैन”, उनले भने, “यस्ता कार्य गर्नेलाई पहिले थुन्ने र त्यसपछि कुरा सुन्ने आदेश जारी भइसकेको छ ।”
कोभिड–१९ सँग लड्ने हतियारका रुपमा देशभरका स्वास्थ्यकर्मीमाथि पटक–पटक भइरहेको दुर्व्यवहारले मुलुकलाई नै प्रभावित पार्न सक्ने हुँदा यस्ता आदेश गर्न बाध्य भएको प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ थियो ।
उनले स्वास्थ्यकर्मीले जुनसुकै अवस्थामा पनि आपूmहरु काम गर्न तयार रहेको तर समाज, काम गर्ने संस्था र घर परिवारबाट समेत बेलाबेलामा हुने व्यवहारले आहात हुने गरेको उल्लेख गरे ।
कोभिड–१९ बाट पीडित जो सुकैलाई पनि निःशुल्क रुपमा उपचार दिने, परीक्षण गराउने, स्वास्थ्यकर्मीलाई चाहिने मास्क र पिपिईजस्ता सामग्री दिने निर्वाध रुपमा उपलब्ध गराउने जिम्मा सरकारको भएको हुँदा व्यवस्थापन मिलाउन आफू तयार रहेको उनको भनाइ थियो ।
मानव अधिकारका लागि एक महिला संस्थाका संस्थापक अध्यक्ष लिली थापाले स्वास्थ्यकमीमाथि भएको दुर्व्यवहार निन्दनीय भएको उल्लेख गरे । शहीद गङ्गालाल अस्पतालका डा नृपेश अधिकारी, सिभिल अस्पतालका स्टाफ नर्स सोना महर्जन र बी एण्ड बी अस्पतालका मेडिकल अधिकृत डा आकृति जोशीले चिकित्सकले पछिल्लो समयमा समाजमा हेलाको दृष्टिकोणले हेर्ने गरेको र घरबेटीले घरमा नबस्न भनेको अनुभव सुनाए ।
नेपाल नर्सिङ संघका उपाध्यक्ष मीना बानियाँले अग्रपंक्तिमा रहेर काम गर्ने स्वस्थ्यकर्मीको बीमा, भत्ता र स्वास्थ्यको विषयमा पनि गम्भीर भएर सरकारसँग वार्ता गरिरहेको जानकारी दिए ।
डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले कोरोनाकाल बिताउन अभिसप्त भएकाले उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान र प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको जानकारी दिइन् । रासस