
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको ११ हजार १२९ जनाको पिसिआर परीक्षणका क्रममा ८९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । जसमा १७ हजार ८२२ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
मन्त्रालयका अनुसार चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र रुपन्देहीमा ५०० भन्दा बढी संक्रमित छन् । मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्य छ ।
प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट चार महिलासहित सात जनाको मृत्यु भएको जानकारी दिए ।
मृतकहरुमा एक बालिका, तीन महिला र चार पुरुष रहेका छन् । जसमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिला रहेकी छन् भने पुरुषहरुमा झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय, भक्तपुरका ७७ वर्षीय रहेका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२८ जना पुगेको छ । जसमा १६६ पुरुष र ६३ महिला रहेका छन् ।
काठमाडौँ उपत्यकामा २९८ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन् । यससँगै राजधानीभित्र संक्रमित हुनेको संख्या ५७२४ पुगेको छ । जसमा काठमाडौँका ४५२२, ललिपुरका ७८५ र भक्तपुरका ५०१ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म ६ लाख ९३ हजार ४७२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ७ हजार ३३७ जना क्वारेन्टाइनमा र १७ हजार ८२२ जना आइसोलेसनमा रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ७०१ जना रहेका छन् र होम आइसोलेसनमा ७ हजार १२१ रहेका छन् ।
त्यस्तै, आइतबार एकै दिन कोरोना संक्रमण निको भई ५८८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार ४१० पुगेको छ । जुन ५४ प्रतिशत हो ।