काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको १२ हजार ८८ जनाको पिसिआर परीक्षणका क्रममा १०६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । जसमा १८ हजार ११२ जना संक्रमित उपचाररत छन् । पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि देशभर ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

मन्त्रालयका अनुसार चितवन, काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र रुपन्देहीमा ५०० भन्दा बढी संक्रमित छन् । मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्य छ ।

प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट चार वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको जानकारी दिए ।

मृतकहरुमा महोत्तरीका एक चार वर्षीया बालिका, महोत्तरीकै ३७ वर्षीय, सिरहाका ६५ वर्षीय, पर्साका तीन जना ५३, ६० र ८० वर्षीय, बारा ६० वर्षीय, चितवनको ५२ वर्षीय, काठमाडौँको ७० र ३५ वर्षीय र मकवानपुरको ५८ वर्षीय पुरुष छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३९ जना पुगेको छ । जसमा १७७ पुरुष र ६४ महिला रहेका छन् ।

काठमाडौँ उपत्यकामा ४८१ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् । यससँगै राजधानीभित्र संक्रमित हुनेको संख्या ६२०५ पुगेको छ । जसमा काठमाडौँका ४९१५, ललिपुरका ८४३ र भक्तपुरका ५३१ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म ७ लाख ५ हजार ५६० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ७ हजार ३९० जना क्वारेन्टाइनमा र १८ हजार ११२ जना आइसोलेसनमा रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ८३२ जना रहेका छन् र होम आइसोलेसनमा ७ हजार २८० जना रहेका छन् ।

त्यस्तै, मंगलबार एकै दिन कोरोना संक्रमण निको भई ७६८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार १७८ पुगेको छ । जुन ५५ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया